काठमाडौं, बैशाख १०- कुवेतमा सञ्चालित एसीसी यू-१९ एलिट कप क्रिकेट प्रतियोगितामा नेपालले सफल सुरुवात गरेको छ । नेपालले बुधबार भएको समूह’क’ को पहिलो खेलमा साउदी अरेबियालाई एक सय ३२ को विशाल रन अन्तरले पराजित गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभरमा दुई सय ३३ रनको योगफल खडा गर्यो ।दुई सय ३३ रनको योगफल पछ्याउने क्रममा साउदी अरेबिया ३८ दशमलव ३ ओभरमा केवल ९६ रनमा समेटियो । नेपालको जितमा यसपटक अमृत भट्टर्राईको महत्वोपूर्ण योगदान रहयो ।
खेलको म्यान अफ द म्याचसमेत बनेका अमृतको व्यक्तिगत ८२ रनको मद्दतले नेपालको शानदार योगफल बनाउने सपना साकार भएको थियो । अर्का आक्रामक ब्याट्सम्यान रोम श्रेष्ठले ३२ रनको योगदान गरे भने चन्द्र सुदले २८ रन जोडे ।
साउदी अरेबियाका अलि जामानले र्सवाधिक २० रन बनाए । नेपालका अनिल मण्डलले नौ रन खर्चेर दुई विकेट लिए भने साउदी अरेबियाका वकासले ३५ रन खर्चेर पाँच विकेट हात पारे ।
चारपटकको विजेता रहेको नेपालले शुक्रबार आफ्नै समूहमा रहेको हङकङको सामना गर्नेछ ।
